पहिलो बोली
आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार पिताम्बर खनालले भ्रष्टाचार न्यूनीकरणदेखि दीर्घकालीन राष्ट्रनिर्माणसम्मका स्पष्ट योजना सार्वजनिक गर्नुभएको छ। वालिङ नगरपालिका वडा नम्बर ३ मा आयोजित एक कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उहाँले देशलाई २० वर्षभित्र आत्मनिर्भर र समुन्नत बनाउने दृढ संकल्प व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै खनालले भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल बैंकिङ प्रणाली अविलम्ब लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नगद कारोबारले भ्रष्टाचार बढाएको उल्लेख गर्दै उहाँले ५०० र १००० दरका नोट बन्द गरी डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
आगामी निर्वाचनका सन्दर्भमा पार्टी तथा व्यक्तिगत रूपमा आफ्ना धारणा राख्दै खनालले पार्टीप्रतिको निष्ठा र एकतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। प्रतिनिधि सभाको नाम सिफारिस गरिएलगत्तै आयोजित कार्यक्रममा बोल्दै उहाँले, “टिकट पाए जित्छु, नपाए जिताउँछु” भन्ने स्पष्ट भनाइ राख्दै पार्टीको हितका लागि सबै साथीहरू एकजुट भएर चुनावमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
शिक्षा, स्वास्थ्य र कृषिमा पूर्ण सरकारी व्यवस्था
खनालले प्रस्तुत गर्नुभएको योजनाअनुसार शिक्षामा पूर्ण सरकारी व्यवस्था लागू गरिनेछ। पाठ्यक्रममा ५० प्रतिशत विषयगत प्रायोगिक र ५० प्रतिशत किताबी ज्ञान समावेश गरी व्यवहारिक शिक्षा प्रणाली लागू गर्ने उहाँको भनाइ छ।
स्वास्थ्य क्षेत्रमा पनि पूर्ण सरकारी व्यवस्था लागू गर्दै १८ वर्षमुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान, उत्पादित सामग्रीको खरिद ग्यारेन्टी, र विदेशी कृषि आयात बन्द गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने योजना उहाँले अघि सार्नुभयो।
२० वर्षे विदेश नीति र नेपाली अर्थतन्त्र सुधार
खनालले २० वर्षलाई लक्षित गरी कडा विदेश नीति आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विदेश जाने प्रवृत्तिलाई रोक्दै, विदेशमा रहेका नेपालीलाई तीन वर्षभित्र स्वदेश फर्काउने नीति अपनाइनेछ। साथै, विदेशमै स्थायी रूपमा बस्न चाहनेलाई नेपाली नागरिकता त्याग्नुपर्ने व्यवस्था गरिनुपर्ने धारणा उहाँले राख्नुभयो।
यातायात पूर्वाधार अन्तर्गत पक्की नालीसहितको ग्राभेल बाटो निर्माण प्राथमिकतामा राखिने र अन्य पूर्वाधार क्रमशः विस्तार गरिने उहाँले बताउनुभयो। त्यस्तै, खानेपानीलाई आधारभूत अधिकारको रूपमा लिँदै “एक घर, एक धारा” को अवधारणासहित निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्त्यमा खनालले भन्नुभयो, “यी कामहरू २० वर्षसम्म निरन्तर गर्यौँ भने नेपाल अवश्य बन्छ। अब देश बनाउन लागौँ।”

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |