गत साता भारतको केरलामा भएको विमान दुर्घटनामा बच्न सफल एक यात्रुले बीबीसी तमिलसँग कुरा गर्दै दुर्घटना अगाडिको नाटकीय क्षणको वर्णन गरेका छन्।”हामीले स्पीकरमा विमानचालको आवाज सुन्यौँ। उनले ‘क्यालिकट ल्यान्ड’ भनेको सुनियो, तर वाक्य पूरा हुन पाएन। त्यसको दुई वा तीन मिनेटपछि हाम्रो दुर्घटना भयो।”अगस्ट ७ को रातलाई यूजिन युसुफ यसरी सम्झन्छन्। उनी कोझिकोड (पुरानो नाम क्यालिकट) विमानस्थलमा प्रतिकूल मौसमका कारण धावनमार्गबाट चिप्लिएको एअर इन्डिया एक्सप्रेसको विमानमा रहेका १९० मानिसमध्ये एक हुन्। दुई विमान चालकसहित १८ जनाको मृत्यु भएको सो दुर्घटनामा विमान दुई टुक्रा भएको थियो।
विमानको पछिल्लो भागमा बसेका युसुफलाई चोट लाग्यो, तर उनको ज्यान जोगियो।”ईश्वरको कृपाले म सुरक्षित र स्वस्थ छु। ओठ र हातमा लागेको सानो चोटसहित म घरमै क्वारन्टीनमा छु,” उनले भने।उक्त दुर्घटना यो दशकमा भएको भारतीय यात्रुवाहक विमानको सबैभन्दा नराम्रो दुर्घटनामध्ये एउटा थियो। तर एक अधिकारीले धेरै जनाको मृत्यु नहुनुलाई ‘चमत्कार’ भनेका छन्।
के भएको थियो?
एक यात्री युसुफका अनुसार अवतरण गर्नुभन्दा झन्डै ४५ मिनेट पहिले यात्रुहरूले पेटी बाँध्न थालेका थिए।तर २० मिनेटपछि पनि विमान आकाशमै घुमिरहेको थियो। “मलाई लाग्यो खराब मौसमका कारण चालकले धावनमार्ग देखेनन्,” उनले भने।केरलामा मनसुन चलिरहेको छ र केही स्थानमा यसले ठूलो क्षति गरेको छ। दुर्घटनाको दिन मुन्नर जिल्लामा बाढीका कारण आएको पहिरोले झन्डै ४० जनाको मृत्यु भएको थियो। दर्जनौँ अरू अझै हराइरहेका छन्।
युसुफका अनुसार विमान अवतरण हुँदै गर्दा सबै कुरा चाँडोचाँडो भइरहेको थियो। उनले भने, “विमान तीव्र गतिमा थियो र त्यो केहीमा ठोकियो र दुर्घटना भयो।”उनले विमानमा मानिस कराएको र रोएको सुनेको बताए।उनले पछिसम्म पनि विमान दुई टुक्रा भएको थाहा पाएनन्। विमानको पछिल्लो भागमा भएकाले उनलाई ठूलो चोट लागेन तर अगाडि बस्नेहरू त्यति भाग्यमानी थिएनन्।”विमानबाट निस्किन झन्डै २० मिनेट लाग्यो। मृत्यु भएका यात्रुको परिवारजनलाई मेरो हार्दिक समवेदना छ।”दुर्घटनाबारे के थाहा छ?उडान नं आईएक्स ११३४ मा १० शिशुसहित १८४ यात्रु र चालकदलका छ सदस्य थिए।कोरोनाभाइरस महामारीका कारण यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमानमा स्वदेश फर्किएको बताइएको छ।
उक्त बोइङ ७३७ विमान स्थानीय समयानुसार साँझ ७:४० मा दुर्घटनामा परेको थियो।भारतीय सञ्चारमाध्यमका अनुसार विमानचालकले पहिलो पटक अवतरण गर्ने प्रयास गर्दा वर्षाका कारण धावनमार्ग देखेनन्।दोस्रो प्रयासमा निश्चित स्थानभन्दा एक किलोमिटर पर विमान ओर्लिँदा चिप्लिएर खाल्डोमा परेको बताइएको छ।अनुसन्धानकर्ताहरूले विमानको ब्ल्याक बक्स फेला पारेका छन्।भारतीय उड्डयनमन्त्री हरदीप सिंह पुरीले शनिवार दुर्घटनास्थल पुगेर ब्ल्याक बक्स भेटिएको बताएका थिए।पुरीले विमानचालकको प्रशंसा गर्दै दुर्घटनाको कारणबारे बोल्ने बेला नभएको बताए।-बीबीसीको सहयोगमा