४ साउन, काठमाडौंः
साउन महिनालाई पशुपतिनाथको महिनाको रुपमा मानिन्छ । यो महिना सोमबार बर्त बस्नेदेखि पशुपतिनाथको दर्शन गर्ने लगायतका काम हुन्छन् । हरेक वर्ष साउनको महिनामा पशुपति मन्दिरमा सोमबारको दिन मानिसको भिड हुने गर्छ । तर, यो वर्ष भने साउनको पहिलो सोमबार भक्तजनहरुले पशुपतिनाथको दर्शन गर्न नपाउने भएका छन् ।
नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा फैलावटलाई रोक्नका लागि जारी गरेको लकडाउन केही खुकुलो भएपनि मन्दिर लगायतका ठाउँहरु खुल्ने निर्णय भएको छैन । सरकारले गरेको लुजडाउनको निर्णय अनुसार साउन ७ गतेसम्म लकडाउन नै रहने छ । यसो हुँदा साउनको पहिलो सोमबार अन्य वर्षमा जस्तो पशुपतिनाथको दर्शनमा भक्तजनहरु जान नपाउने भएका छन् ।
पशुपतिनाथको मन्दिरलाई तत्काल खुल्ला गर्ने निर्णय नभएको पशुपति विकास कोषले जनाएको छ । सरकारले नै पनि मन्दिर लगायतका भिडभाड हुने स्थान खुल्ला गर्ने निर्णय नदिएका कारण पशुपति अहिले नै नखुल्ने बताइएको छ । साथै, यो वषृ भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।