३ साउन, काठमाडौं :
संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।
संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाएका डा आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उहाँले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेको जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले बताए ।
भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुचि थियो । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए ।
आजै उनको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।