१ साउन, काठमाडौंः
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा हिजो राती गएको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये दुइ जनाको शव फेला परेको छ । थप तीन जना भने अझैं बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा हिजो राती पहिरो जाँदा गेन्जिङ शेर्पाको घर बगाएको थियो । घरसँगै पाँच जनालाई पहिरोले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता भएका पाँच जनाहरुमध्ये दुई जनाको शव फेला परेको हो ।
३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने अझैं बेपत्ता रहेका छन । बेपत्ता हुनेमा ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिरहेका छन् ।