११ असार, काठमाडौंः
राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयको लागि राहत प्याकेज उपलब्ध गराउनुपर्छ भन्ने माग गरेकी छिन् । बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले निजि विद्यालयहरुलाई बचाउनको लागि सरकारले विद्यालय सञ्चालकको निम्ति राहत प्याकेजको व्यवस्था गर्नुपर्ने माग राखेकी हुन् ।
सांसद राईले गत चैत महिनादेखि शिक्षकहरु बिना तलब बस्दा समस्या भएकाले सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् । ‘सबै विद्यालयले विद्यालय सञ्चालन हँदा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा अब छैन,’ उनले भनिन्, ‘स्थानीय तहको जिम्मेवारीमा विद्यालयलाई वर्गिकरण गरेर सरकारले सहुलियतपूर्ण व्याज लगायतको सुविधा दिनुपर्छ ।’
संसदमा आफ्नो पालोमा बोल्दा उनले विद्यार्थी र अभिभावकलाई परेको मारको बारेमा भने केही पनि भनिनन् । आफ्नो समयावधीमा उनले निजि विद्यालयको पक्ष मात्रै लिईरहिन् । उनले निजि विद्यालयका सञ्चालकहरुका लागि राहतको व्यवस्था गर्न शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको बताईन् । उनले भनिन्, ‘कोरोना भाइरसबाट सुरक्षित स्थानमा स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने अधिकार पनि दिनु आवश्यक छ ।’