०९ असार, काठमाडौंः
पछिल्ला केही दिनयता नेपालमा दैनिक थपिएका कोरोना संक्रमितको संख्या बढ्दो छ । सरकारले लक डाउन केही खुकुलो बनाएतापनि संक्रमितको संख्या भने बढ्दो छ । संक्रमित संख्या १० हजार नजिक पुग्दा फेरि लक डाउन हुने हो कि भन्ने डर सबै जनताको मनमा परेको देखिन्छ ।
गत चैत ११ गतेबाट सरकारले जारी गरेको लकडाउनको समयमा नेपालमा संक्रमित संख्या केवल २ थियो । सरकारले सवारी साधन, हवाई सेवा, सिमाना बन्द तथा अन्य थुप्रै कुरामा प्रतिबन्द लगाएर लक डाउन गरेको थियो । असार १ गतेबाट भने सरकारले पटक पटक थप्दै आएको लक डाउन केही खुकुलो भएको छ । तर, संक्रमित थपिने क्रम भने जस्ताको त्यस्तै भएको देखिन्छ ।
फेरि लकडाउन हुने हो कि भन्ने बारेमा उपप्रधान तथा रक्षामन्त्री अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । सार्वजनिक रुपमा बोल्दै उनले भने, ‘जुन जुन ठाउँमा संक्रमण देखिन्छ, त्यो ठाउँलाई सिल गर्ने काम गर्ने छौं । पुरै देश लकडाउन अब हुँदैन् ।’
आगामी दिनमा कस्तो हुने भन्ने बारेमा भने पोखरेलले छलफलबाट निर्णय हुने बताए । उनले भने, ‘सरकारले कोरानासँग लड्न लकडाउनको रणनीति परिवर्तन गरेको छ । त्यसका लागि सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधिजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति अघि सारेका छौं ।’