०८ असार, काठमाडौंः
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या हालसम्मकै सबैभन्दा धेरै भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संख्यामा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३ सय ७० जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या रहेको छ ।
कोरोना संक्रमण मुक्त हुनेहरुमा सबैभन्दा धेरै दैलेख अस्पतालका रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेख अस्पतालबाट कुल २ सय ६५ जनाले एकै दिनमा कोरोना भाइरसको संक्रमणलाई जितेका छन् त्यस्तै, डिस्चार्ज हुनेहरुमा धादिङ अस्पतालबाट १७ जना, सल्यान अस्पतालबाट ३७ जना, कालिकोट अस्पतालबाट २८ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना र दाङ्ग अस्पतालबाट ६ जना रहेका छन् ।
मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेहरुमा ३ सय ३८ जना पुरुष रहेका छन् भने ३२ जना महिला रहेका छन् । सोमबार डिस्चार्ज भएकाहरु गरि कुल डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।