०७ असार, काठमाडौंः
विगत चैत महिलाबाट विद्यालयहरु बन्द छन् । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण पठकपाठक हुन सकेको छैन् । यस्तो बेलामा विद्यालय खुल्न पनि सकेको छैन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएसँगै विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षक प्रभावित भएका छन् । विगत तीन महिनादेखि दुई लाख शिक्षकले तलब पाउन सकेका छैनन् । लक डाउनको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था निकै दयनिय बनेको छ ।
अहिले कतिपय निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट पढाई सुरु गरिसकेका छन् । तर, शिक्षकले भने वैकल्पिक माध्यमबाट पढाएको तलब पाउन सकेका छैनन् । नेपालका विभिन्न ठाउँमा गरि अहिले देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालय छन् । यी विद्यालयहरुमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
संस्थागत विद्यालयका शिक्षकले गत चैतदेखि जेठ महिना सम्मको तलब पाउन नसकेको संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले बताए । उनले भने, ‘तीन महिनादेखि तलब नपाउँदा उनीहरूको आर्थिक अवस्था नाजुक भएको छ ।’ आफूले पाएको जानकारी अनुसार ७५ प्रतिशत शिक्षकले त झन् चैत महिनाको समेत तलब नपाएको होमकुमार बताउँछन् ।
उनले भने, ‘शिक्षक लगायत राष्ट्रसेवकलाई बन्दाबन्दीको समयमा कार्यालय नगए पनि तलब सुविधा दिने सरकारले राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ । संस्थागत विद्यालयका शिक्षकको समस्या आएपछि यसमा पहल गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन. प्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तथा सरकारी अधिकारीलाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको छ ।’