०५ असार, काठमाडौंः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाउनुभएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ । सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो ।
त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ । यी दुई देशकाबीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ ।
सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गर्नुभएको थियो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उहाँले चासो व्यक्त गर्नुभएको हो ।
साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गर्नुभएको थियो ।
प्रधानमन्त्री मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ । बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने जनाईएको छ । केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दलगायत पनि बैठकमा सहभागी हुने कुरा रहेको छ ।
जानकारीअनुसार प्रधानमन्त्री मोदीको सिफारिसमा भाजपाका पूर्व अध्यक्ष सिंहले बिहीबार पार्टीका नेताहरुलाई निमन्त्रणा गरेका छन् । राष्ट्रियतासंग सम्बन्धित संवेदनशील र महत्वपूर्ण विषयमा पनि सरकारले पर्याप्त चासो र सक्रियता नदेखाएको र अन्य पार्टीहरुसँग छलफल तथा सहकार्य गर्न नखोजेको भन्दै आलोचनापछि उक्त बैठक आयोजन हुन लागेको छ ।
विषेश गरी आम आद्मी पार्टी, आरजेडीलगायतका पार्टीले दबाव दिएपछि सर्वदलिय बैठक बस्न लागेको समाचारमा जनाइएको छ । यही जुन १५ देखि १६ तारिख सम्ममा लद्दाखस्थित ग्वालन भ्यालीलीमा दुई देशका सैनिकहरुका बीचमा झडप भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।
सो झडपका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता भने नभएको पनि भारतीय सेनाले स्पष्ट पारेको छ ।