०२ असार, काठमाडौंः
नेपाली फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका एक फिजियोथेरापिष्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र अन्य ४ राष्ट्रिय स्तरका खेलाडीले सर्वोच्च अदालतबाट सफाई पाएका छन् । उनीहरु सबैलाई नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेको थियो । उनीहरुलाई आज मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले निर्दोष भएको भन्दै सफाइ दिएको छ ।
६ वर्ष अघि नेपाल राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, टिमका प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई म्याच फिक्सिङको आरोप लागेको थियो । खेल मिलेमतोको आरोप लागेका उनीहरुलाई विशेष अदालतले २०७५ जेठ २४ गते नै निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। तर, २०७५ मंसिर २० गते विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले पुनरावेदन पेश गरेको थियो ।
इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीहरुले विभिन्न किसिमका खेलमा गरि १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मितेमतो गरेका थिए । एक खेल बराबर उनीहरुले ५ अमेरिकी डलर लिने गरेको प्रहरीको आरोप थियो ।
अदालतमा भने यी आरोप पुष्टि हुन नसकेपछि उनीहरुले सफाई पाएका छन् ।