२३ जेठ, काठमाडौंः
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्धार गर्ने क्रममा म्यानमारबाट आज २६ जना नेपालीलाई उद्धार गरिएको छ । उनीहरु काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर काठमाडौंस्थित विमानस्थलमा आइपुगेको हो । कोरोना महामारि रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसेस म्यानेजमेन्ट सेन्टरको संयेजकत्वमा उद्धार गरेर उनीहरुलाई नेपाल ल्याईएको हो । उद्धार गरिएका नागरिकलाई सीसीएमसीले नै व्यवस्थापन गर्दैछ ।
नेपाल आएका नागरिकहरुको विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सिसिएमसीले जनाएको छ ।
उद्धार गरिएका नेपालीहरुलाई अहिले नेपाली सेनाले बसुन्धरास्थित होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने काम भईरहेको छ ।