२०७७–०२–२०/काठमाडौं–नेपालमा अहिले १८ सयभन्दा बढि कोरोना संक्रमित भेटिएका छन् । चैत १० गतेबाट जारी भएको लक डाउन विभिन्न चरण पार गर्दै थपिएर हाल जेठ ३१ गतेसम्मलाई जारी गरिएको छ । कोरोना संक्रमणलाई थप फैलिनबाट रोक्न लकडाउन गरेको भनिएतापनि दैनिक कोरोना संक्रमितको संख्या पनि उकालो लागिरहेको छ । यस्तो प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सेना परिचालनको प्रस्ताव अघि राखेका छन् ।
सोमबार प्रधानन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै संक्रमणको जोखिम बढ्दै गएका कारण सेना परिचालनको प्रस्ताव अघि सारेका हुन् ।
नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, वा कुनै भागको सुरक्षामा युद्ध, बाहिरि आक्रमण, सशस्त्र विद्रोह वा गम्भिर संकट उत्पन भएको समयमा सुरक्षा परिषदले सिफारिस गरेमा मन्त्री परिषदको निर्णयबाट सेना परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । सेना परिचालन गरेको घोषणा भएसँगै एक महिनाभित्रमा प्रतिनिधिसभाबाट यसको अनुमोदन हुनुपर्ने व्यवस्था रहेको छ ।
गत शनिबार बसेको मन्त्री परिषदको वैठनले क्वारेन्टाइनमा रहेका र विदेशबाट आउनेहरुको व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने निर्णय गरेको थियो । अहिले भारतबाट नेपालमा ठूलो संख्यामा नेपालीहरु भित्रिरहेकाले उनीहरुलाई व्यवस्थापन गरेर जोखिमलाई न्युनिकरण गर्न सेना परिचालन गर्नुपर्ने निर्णय भएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपति बिचको छलफलबाट तत्कालै कुनै निस्कर्ष भने आएको छैन ।