काठमाडौँ, जेठ ११ गते । भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र लकडाउनका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएपछि भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको संख्या सयौ रहेको छ।
भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।
भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल नेपाल प्रवेश दिइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्राइएको बताउनुभयो । “रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन्; बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्”, उहाँले भन्नुभयो ।
भारतले बन्दाबन्दीकै बीचमा रेल सेवा सुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हँदै घर फर्कन दैनिक सात आठ सय नेपाली सुनौली नाकामा आउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो । जेठयता मात्रै बेलहिया नाकाबाट दुई हजार पाँच सय नेपाली भित्रिएको प्रजिअ पन्थले जानकारी दिनुभयो । त्यसबाहेक लुकिछिपी भित्रनेको सङ्ख्या पनि ठूलो रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
यसैगरी नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट शनिबार मात्र एक हजार नौ सय नेपाली स्वदेश भित्रिएका छन् । शुक्रबार त्यस नाकाबाट स्वदेश भित्रने नेपाली एक हजार नौ सय रहेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो । यस्तै प्रदेश २ का विभिन्न सीमानाकाबाट शनिबार ४९६ जना नेपाली स्वदेश भित्रिएका छन् । जेठ महिनामा प्रदेश २ मा चार हजार २३० नेपाली भारतबाट स्वदेश भित्रिएका र उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताउनुभयो ।
कैलाली नाकाबाट, भारतका विभिन्न सहरबाट आएर सीमा क्षेत्रमा रोकिएका दुई हजार ११ जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भारतको राजधानी दिल्ली, मुम्बई, पुणे लगायतका सहरबाट आएका नेपालीलाई सीमावर्ती बजार गौरीफन्टाबाट नेपाल ल्याइएको हो ।
सूचना अधिकारी जोशीका अनुसार भारतबाट आएकालाई सम्बन्धित पालिकाको एकान्तबासमा बसाउने गरेर पठाइएको छ । शनिबार भारतको गौरीफन्टाबाट स्वदेश भित्रिनेमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा कर्णाली र प्रदेश ५ को सुर्खेत, दैलेख, सल्यान र बर्दियाका नागरिक छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार कञ्चनपुरको दोधारा हुँदै तीन सयभन्दा बढी नेपाली भारतबाट आएका छन् । उनीहरूलाई प्रदेश सरकार र स्थानीय तहले बस लगायतका सवारी साधनबाट सम्बन्धित पालिकाको एकान्तबासमा राख्ने गरी लगिरहेका छन् ।