काठमाडौं, वैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भारतले लिपुलेकमा लिंकरोड उद्गघाटन गरेकोमा पार्टीको गम्भिर ध्यान आकर्षण भएको उल्लेख गर्दै यसबाट नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको बताइको छ ।
विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्धलाई समान सार्वभौमिकता, भौगोलिक अखण्डता, आपसी सम्मान र लाभमा आधारित रहेको कुरामा विश्वास गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, कोरोना भाइरसका कारण पूरै मानवजातीले अप्रत्यासित स्वास्थ्य संकट झेलिरहेको र हाम्रा सबै प्रयत्नहरू महामारी विरुद्ध लड्न केन्द्रित भइरहेका बेला यस्तो कठीन समयमा यस्ता घट्नाक्रम विकसित हुनु दुखद भएको जनाइएको छ ।
सुगौली सन्धि लगायतका ऐतिहासिक तथ्य तथा प्रमाणहरुले काली (महाकाली ) नदि पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमाग भएको स्पष्ट गरेको विज्ञप्तिमा जनाईएको छ।
साथै सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका बेला जारी गरीएको संयुक्त वक्तव्यमा नेपालको सहमती बिना नै लिपुलेक पासलाई द्वीपक्षीय व्यापारिक मार्गका रुपमा समावेस गरिएकोमा पनि यी तथ्यहरूलाई नेपालले उठाएको कुरा नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै विज्ञप्तिमा भनिएको छ,दुई देशबीचको सिमा विवादको समाधानका लागि गठित परराष्ट्र सचिवको बैठकको मिति तय गर्न नेपाल सरकारले प्रस्ताव गरेको विषयबारे पनि नेपाल कम्युनिष्ट पार्टी जानकार रहेको उल्लेख छ ।
नेकपाले विज्ञप्तिमा लेखेको छ, दुई देशको युगौंयुग पुरानो सम्बन्धलाई ध्यान गर्दै सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान खोज्ने नेपाल सरकारको प्रयासको समर्थन गर्दछ ।
विज्ञप्तिमा अहिलेको एक पक्षीय रुपमा भएको यो काम दुई देशका उच्च राजनीतिक तहको सहमतिमा खडा गरिएका सयन्त्रबाटै सबै खालका सीमा विवाद हल हुन पर्छ भन्ने नेपालको पटक पटकको अनुरोध विपरित भएको उल्लेख छ ।
साथै विज्ञप्तिमा नेकपाले नेपाल र भारतीय सरकार दुबैलाई सबै सीमा विवादहरु यस अघि भएका समझदारी अनुसार कुटनीतिक माध्यमबाट समाधान गर्न तत्काल प्रयास थाल्न आग्रह गरेको छ ।
साथै नेकपाले भारत सरकारबाट त्यस क्षेत्रमा भई रहेको सडक निर्माणको कामलाई तत्काल रोक्न र यस विषयलाई थप जटिल बनाउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ।
उता भारतको विदेशमन्त्रालयले भने एक विज्ञप्ति प्रकाशित गरी उक्त सडक निर्माण भारतको आफ्नै भूभागमा भएको दावी गरेको छ । साथै भारतले कुटनीतिक माध्यमबाट नेपालसँगको सीमा विवाद समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपालसँग सीमा सम्बन्धी मुद्दामा छलफल चलिरहेको र विदेश सचिब स्तरीय बैठकबाट विवादित मुद्दाको समाधान गर्न भारत प्रतिबद्ध रहेको जनाएको छ । विदेश मन्त्रालयको वेबसाइटमा भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा चीनसँग मानसरोवर यात्राका लागि जोडिने सडकको उद्घाटन गरेको उल्लेख गरिएको छ ।