अमेरिकी सरकारले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो ।
नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा सजिलो हुनसक्ने भेन्टिलेटर भने अनुरोध नगरिएको बताए । उनले भने, “सरकारका तर्फबाट भेन्टिलेटर माग्ने निर्देशन छैन ।” अमेरिकाले व्यापक रूपमा भेन्टिलेटर उत्पादन गरेको र अन्य देशले सहयोगका लागि त्यस्ता भेन्टिलेटर माग्ने गरेको प्रसंगमा राजदूतलाई यसबारे सोधिएको थियो ।
कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको नेपालीको संख्या १४ रहेको तथ्यांंक दूतावासलाई प्राप्त भएको पनि कार्कीले बताए । मृतकको उक्त संख्यामा नेपाली मूलका अरू देशबाट आएर अमेरिकी भइसकेका नेपालीहरू पनि रहेको उनले बताए । कार्कीका अनुसार मृतकको तथ्यांकमा पनि कतिपयका आफन्तले कोरोना लागेर मृत्यु भएको भनेर नबताइदिन आग्रह गरेका छन् ।
कोरोना संक्रमणमा पनि अधिकांश नेपालीहरूले आफ्नो अवस्था गोप्य राख्नाले समुदायमा यो रोग अरू फैलिने खतरा हुन्छ । गोप्य राखिदिने आग्रहका कारण कतिपय सहयोग परिचालन गर्न गाह्रो हुने गरेको कार्कीको भनाइ थियो । उनले भने, “नेपालीहरूले कोरोनालाई लाग्नै नहुने रोगजस्तो गरेका छन् ।” अमेरिकामा अलपत्र परेका वा नेपाल जान चाहने नेपालीहरूलाई लामो हवाई दूरी पार गरेर नेपाल लैजाने कुरा अहिलेको समयमा अव्यवहारिक भएको राजदूत कार्कीले बताए ।
उनले अहिले अमेरिकाबाट ठूलो संख्यामा नेपाल लैजाने हो भने त्यहाँ क्वारेन्टाइनलगायत धेरै व्यवस्थापनका समस्या हुने र रोग संक्रमण हुने थप खतरा भएको उल्लेख गरे । उनले भने, “यो समयमा जहाजमा चढेका बेला लक्षण नदेखिएका तर कोरोना संक्रमितहरूबाट रोग सर्ने डर हुन्छ ।” राजदूत कार्कीले अब आफ्नो पनि नेपाल फर्किने समय भएको तर कोरानाका कारण हवाई यात्राहरूमा प्रतिबन्ध लागेकाले फर्कन नसकेको जानकारी दिए ।
–बार्हखरीबाट