महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले आज मात्रै दुईको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ११ पुगेको छ।
शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको छ।
यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साहको पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।
बर्दिवास वडा नम्बर १२ मेघरोल र भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म आठ जनाको मृत्यु भइसकेको छ।
र्दिवास १२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए।बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले पत्ता लाग्ने बताए ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य सङ्गठनका डाक्टर सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ।
टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको पोखरेलले बताए।मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव सिताई महराको शव परीक्षण गरिएको छ।परीक्षण रिपोर्ट आएपछि मृत्यु कारणले भएको हो पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोरोनाव भाइरसको सङ्क्रमण हो/होइन जांच गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ।थारु, मुसहर, चमार, बाँतर सर्दारसहितका जनजाति र दलित समुदायहरु एकै ठाउमा बस्दै आएका छन्।।एक साता पहिलेमात्र मेघनाथ गोरहन्नामा सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो।