नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन्।
प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले सेतोपाटीलाई बताएको छ।
भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका स्रोतले बतायो।
‘चिनियाँ राजदूत यान्छीले पनि नेपाललाई गर्ने सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाएकी थिइन्’,स्रोतले भन्यो, ‘प्रचण्ड र राजदूतबीच झण्डै २० मिनेट कुराकानी भएको थियो।’
चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि लगायत अन्य मेडिकल समान ल्याउने सम्झौतामा हस्ताक्षर गरेको छ भने चीनका विभिन्न व्यापारिक घराना र सामाजिक संस्थाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् ।