लण्डन : प्रवासमा रहेका नेपाली मूलका गायक भीम निरौलाको चर्चित ‘सन्डे मर्निङ लभ यू, मन्डे मर्निङ लभ यू’ बोलको गीतले ब्रिटेन्स गट ट्यालेन्टमा पनि अडियन्सको वाहवाही पाएको छ ।
अडिसन राउन्डमा उक्त गीतका लागि अडियन्सले तालीले साथ दिएपछि जजहरु पनि उनलाई अघिल्लो चरणमा लैजान बाध्य भएका थिए । ब्रिटेन्स गट ट्यालेन्टले हालै सार्वजनिक गरेको उक्त गीतलाई भिडिओमा देखिए अनुसार जजले खासै रुचाएका देखिँदैनन् । यद्यपि अडियन्सहरु गीतमा राम्ररी रमाए ।
गायक निरौलाले गाउन थालेको केही सेकेन्डमै जज साइमन कोवलले इन्कार गरिदिएका थिए । तर अन्त्यसम्ममा अडियन्स गीतमा झुम्न थालेपछि अन्य तीन जजले उनको प्रस्तुतीलाई अघिल्लो चरणमा लैजान तयार भएका हुन् ।निरौलाले केही वर्षअघि तयार पारेको उक्त गीत नेपाली दर्शक तथा स्रोता माझ भाइरल भएको थियो । उक्त गीत करोड भन्दा धेरै पटक हेरिएको र सुनिएको छ । निरौला यसअघि भारतको रियालिटी शो इन्डियन गट ट्यालेन्टमा पनि सोही गीत लिएर प्रस्तुती दिन पुगेका थिए ।
भारतमा भने राम्रो प्रशंसा पाउनुको सट्टा व्यंग्य मात्रै व्यहोर्नु परेको थियो । यसपटक ब्रिटेन्स गट ट्यालेन्ट २०२० मा प्रस्तुत हुँदा उक्त गीत आफूले आफ्नी जीवनसाथीको लागि लेखेको प्रतिक्रिया दिएका थिए । जजले गीतको प्रशंसा नगरे पनि मेलोडीमा रमाएका थिए । केही अडियन्स र जजहरु समेत गीतमा मस्त नाचिरहेका देखिएका छन् ।-Agency को सहयोगबाट