पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या आइतवार ५१ पुगेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुई पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो।
https://coronanepal.live(यहाँ बिस्तृत रुपमा हेर्नुहोस)
दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका र उनीहरूमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
अधिकारीहरूका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १२ जना निको भई घर फर्किसकेका छन्।यसअघि शुक्रवार झापाका एक ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा ३० जना, वीरगन्जमा सातजना (आइतवारका दुईसहित) र भरतपुर तथा धनगढीमा एक/एकजना कोरोनाभाइरस सङ्क्रमित उपचाररत छन्।
वीरगञ्जमा सङ्क्रमण आइतवार पुष्टि भएका दुई पुरुष यसअघि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका बस्नेतले बताए। सङ्क्रमितमध्ये एकजना वीरगन्ज महानगरपालिकामा कार्यरत कर्मचारी भएको बताइएको छ।
बस्नेतका अनुसार सङ्क्रमितमध्ये एकजना शङ्कास्पद लागेर सिद्धार्थ माविको क्वारन्टीनमा बसिरहेका थिए।नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीन भारतीय नागरिक र एक रौतहटका नेपाली नागरिकलाई सङ्क्रमणमुक्त भएपछि आइतवार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
-BBC को सहयोगमा