टी.पी खनाल,सियाटल,संयुक्त राज्य अमेरीका,
म अमेरिकाको त्यहिँ शहरमा बस्छु जहाँ बिगत ४ दिन भित्रमा कोरोना भाईरसको कारणले ९ जना मान्छेको ज्यान गैसक्यो। यो राज्यमा सरकारले ४ दिन पहिले नै आपतकालको घोषणा पनि गरिसकेको थियो।
अमेरिकामा अहिलेसम्ममा यो रोगले जति पनि मान्छेहरु मरेका छन ती सबै यहिँ अर्थात वाशिंगटन राज्यको सियाटल शहरमा मात्रै मरेका छन ! त्यसैले स्वाभाविक रुपमा मान्छेहरु त्रसित र आतंकित छन र चाहिने भन्दा बढी खानेकुराहरु जम्मा गर्नतिर लागिरहेका छन्। परिणाम स्वरुप कतिपय ठूला स्टोरहरूमा समेत खानेकुराहरु पाइन छाडिसक्याे। तर यसरी आतंकित हुँदा झन ठूलो नोक्सानी हुन्छ भन्ने मेरो मान्यता रहेको छ।
समस्यासँग जुध्न धैर्यता चाहिन्छ। जति हतास भयो उति धेरै नोक्सानी हुन्छ। जति धरै मानसिक रुपमा कमजोर भइन्छ उति नै हामीहरु कमजोर हुँदै जान्छौं। मानसिकरुपमा कमजोर हुनु भनेको रोगलाई बलियो हुने मौका दिनु हो। त्यसैले धैर्यता र आत्मबल नै अहिलेको अवस्थामा ठूलो ओखती हो।
वास्तविकता के हो भने यो कोरोना भाईरसले अशक्त, बुढाबुढी र ग प्रतिरोध शक्ति (Immune System) कमजोर भएका व्यक्तिहरुलाई मात्रै बढी क्षति पुर्याउँछ। अहिलेसम्म यहाँ मरेका मान्छेहरु पनि त्यस्तै कुनै न कुनै रुपमा रोग प्रतिरोध शक्ति कमजोर भएकाहरु र रोगसँग लडिरहेका मान्छेहरु नै हुन भन्ने कुरा जानकारीमा आएको छ।
त्यसैले त्यस्ता मान्छेहरुले भने स्वस्थ मान्छेको तुलनामा बढी सतर्कता अपनाउनु जरुरी हुन्छ। हालसम्म संसारभरमा झन्डै ९० हजारलाई यो भाइरसले आक्रमण गरेको तथ्यांक सार्वजनिक भएकोमा झन्डै ३ हजार जति मात्रै मरेका छन्।
यसबाट के बुझिन्छ भने यो भाइरसले छोएकाहरु मध्ये २ देखि ३ प्रतिशत जति मान्छेहरु मात्रैलाई यो भाइरस घातक भएको छ। अनि मृत्युहुनेहरु पनि अधिकांश रोग प्रतिरोध शक्ति कमजोर भएकाहरु नै भएको कुरा तथ्यांकहरुले पनि पुष्टि गरिरहेका छन्।
हुन त चिसोसँग सम्बन्धित बिभिन्न भाइरस तथा फ्लूहरुको कारणले हरेक बर्ष लाखौं मान्छेहरुकाे यसै पनि मृत्यु भइरहेकाे हुन्छ। तर कोरोना भाइरस अलिक फरक किसिमको भएको र यसका बिरुद्धको कुनैपनि भ्याक्सिन हालसम्म बनि नसकेको हुँदा चिन्ताको बिषय हुनु स्वाभाविकै हो। तर यो भाइरससँग डराएर हतोत्साहित हुनुभन्दा संयमतापूर्वक कतिपय सावधानीहरु अपनायौ भने निश्चित रुपमा हामीहरुले आफूलाई सुरक्षित राख्न सक्छौ भन्ने मेरो विश्वास छ।
१) नआत्तिने, न डराउने र आफूलाई भित्रबाट बलियो बनाउने। मरिन्छ कि भनेर नडराउने, किनकी मृत्यु हाम्रो नियन्त्रणको बिषय होइन। हामीहरुले इमान्दारीपूर्वक कर्तव्य निर्वाह मात्रै गर्ने हो भन्ने कुरामा दृढ भै सोही अनुरुप काम गर्ने।
२) यो भाइरसले छुनासाथ हामीहरु मरिहाल्ने होइन। त्यसैले रोग लागिहाले पनि आफूलाई कमजोर हुन नदिई स्वास्थ्य निकायमा सम्पर्क गरी डाक्टरको सल्लाह अनुसार इमान्दारीपूर्वक उपचार गरिरहने।
३) यो रोग नियन्त्रणमा नआउन्जेल सकेसम्म भिडभाड देखि टाढै बस्ने। भीडमा जानुपरे मास्क लगाएर जाने र सकेसम्म मान्छेहरुसँग नछोइकन अलिक टाढै रहने प्रयास गर्ने।
४) यो रोगको उपचार अन्यत्र होइन, हामीहरु भित्रै छ भन्ने कुरा बुझ्न जरुरी छ। र त्यो उपचार के हो भने रोग प्रतिरोध शक्ति बलियो बनाउने खानेकुराहरु खाने, कम्तिमा आठ घण्टा सुत्ने, चिन्ताजन्य बिषयहरुसँग तुरुन्तै सम्बन्ध बिच्छेद गर्ने र कम्तिमा पनि दिनमा १ घण्टा हिड्ने बानी बसाउने। बाहिर हिड्न सम्भव नभए घरभित्रै वा आफ्नै कोठामा पनि उफ्रने वा नाच्ने।
५) दिनदिनै पैसा (नोटहरु) गन्ने काम गर्नुपर्ने मान्छेले हातमा पातलो पन्जा लगाएर मात्र काम गर्ने। किनकी पैसा (नोटहरु) धेरै मान्छेको हात हुँदै दौडिरहेका हुन्छन, त्यसैले नोटहरु निकै फोहोरी र दुर्गन्धित हुन्छन। पन्जा नलगाएको बेलामा भने साबुन पानीले हात धोई रहने।
६) भिटामिन सी युक्त पेयपदार्थहरु प्रशस्त मात्रामा पिउने। मह, लसुन, अदुवा, बेसार, ज्वानो, मेथी, जिरा जस्ता आयुर्वेदिक खानेकुराहरु आफ्नो स्वास्थ्यको अवस्था हेरी सधैँ खाने। तर प्रेसर लो हुनेले मेथी र युरिक एसिड हुनेले कागती खादा हानी हुनसक्छ त्यसैले विचार पुर्याउनुहोला।
७) सम्भव भएसम्म ध्यान (मेडीटेसन) गर्ने बानी बसाउनु सबै किसिमका शारीरिक तथा मानसिक समस्याहरुको लागी उत्तम उपाय हो।
नोट: म कुनै मेडिकल डाक्टर होइन ! यहाँ लेखिएका कुराहरु दैनिक रुपमा मैले प्रयोगमा ल्याएका मेरा व्यक्तिगत अनुभवका कुराहरु मात्रै हुन्। स्वस्थ खानपान एवं जीवनशैली र प्रेरक ज्ञान आर्जन गर्नु मेरो दैनिक जीवनका प्रयोगहरु हुन।
-डीसीनेपालबाट(डीसीनेपालका लागी टी.पी खनालको लेख)