काठमाडौँ, २१ माघ । अभिनेत्री प्रियंका कार्कीलाई विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले केही समयको लागी भएपनी आफ्नो अफिसियल फेसबुक पेजमा स्थान दिएको छ । बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल।’लेखेको छ । साथै ‘वि लभ नेपाल’ भन्दै प्रियंकाको भिडियो समेत पोष्ट गरेको छ।तर यो फोटो अहिले बार्सेलोनाले आफ्नो आधिकारीक फेसबुकबाट हटाएको छ।
प्रियंका प्रेमी तथा प्रस्तावित श्रीमान आयुष्मान देशराज जोशीको साथमा बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न आइतबार स्पेनको बार्सिलोना पुगेकी हुन् । कतार एअरवेजको उडानमा स्पेन पुगेकी प्रियंकाले आइतबार राति खेल शुरु हुनुअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत आफु नेपाललाई प्रतिनिधित्व गरेर खेल हेर्न आएको र धेरै नेपालीले यो अदुभुत खेल माहाेलमा रम्ने चाहना पालेपनि सबैले यो सपना प्राप्त गर्न नसक्ने बताएकी थिइन् ।
बार्सिलोनाले पोष्ट गरेको फोटोमा प्रियंका एक युवतीका साथ सेतो पहिरनमा खेलमैदानमा उभिएकी छिन् । बार्सिलोना पुग्नुअघि प्रियंका आफ्ना साथीसंगीहरुको साथमा ब्याचलर पार्टी (जुन विवाह अगाडि मनाइन्छ) मनाएर फर्किएकी हुन् । उनी अभिनेता आयुश्मान देशराज जोशीसँग फागुन १८मा विवाह बन्धनमा बाँधिइँदैछिन् ।
प्रियंकाले हेरेको स्पेनिस ला-लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो।