‘कोपा डेल रे’ को सर्वाधिक सफल मानिएको क्लब बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब इबिजालाई दुई–एक गोलान्तरले हरायो । ३० पटकको कोपा डेल रे च्याम्पियन बार्सिलोनालाई जित दिलाउनका लागि एन्टोईन ग्रिजम्यानले गोल गरेका थिए।
सुरुवातमै एक गोलले पछि परेको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल फर्काउन सफल भयो । लियोनल मेस्सी र जेरार्ड पिके नभएको खेलमा इबिजाले नवौं मिनेटमै अग्रता लिएको थियो । इबिजाको घरेलु मैदानमा भएको खेलमा जाभी पेरेजको गोलद्वारा घरेलु टिमले अग्रता लिएको थियो ।
खेलको ७२औँ मिनेटमा एन्टोईन ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि इन्जुरी टाईममा पनि ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । बार्सिलोनाले अहिलेसम्म ३० पटक कोपा डेल रेको उपाधि जितिसकेको छ भने पछिल्लो पाँच सिजनहरुमा मात्र चार पटक च्याम्पियन भइसकेको छ ।
अर्को खेलमा रियल मड्रिडले पनि सालमान्कालाई ३-१ हराउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । तेस्रो डिभिजनको पुछारमा रहेको सालामान्कालाई हराउनका लागि ग्यारेथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने अर्को एक गोल रियलले आत्मघाती पाएको थियो ।
खेलको १८औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६२औँ मिनेटमा हुवान गोंगोराले आत्मघाती गोल गर्दा रियल मड्रिडले अग्रता लियो । इन्जुरी समयमा ब्रामिन डियाजले गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो ।
यसैगरी सेभिया, एथ्लेटिक क्लब, भ्यालेन्सिया, ग्रानाडा, भिल्लारियल र रियल सोसियडाड पनि प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन् ।
एजेन्सीको सहयोगमा