काठमाडौं ,पौष २२
नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न अस्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी कार्यक्रमको गतिविधिले देशकै बेइज्जत गरेको छ । सिड्नीस्थित ओपेरा हाउसको आँगनमा नेपाल भ्रमण वर्ष २०२०को शुभारम्भ कार्यक्रम सकिएपछि निकालिएको मन्त्री भट्टराईसहित सहभागी र्यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ । र्याली निकाल्न स्वीकृति नलिएको भन्दै प्रहरीले रोकिदिएको हो । मन्त्रीसहित सहभागी कार्यक्रमलाई प्रहरीले रोक्नु भनेको लज्जाको विषय हो ।
ओपरा हाउसको आँगनमा अष्ट्रेलियाली प्रतिनिधिसहितको भ्रमण वर्षको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री भट्टराईसहित सहभागीहरूले नेपालको झन्डा र भिजिट नेपालको ब्यानर बोकेर र्यालीसहित ओपेरा हाउसतिर गएपछि प्रहरीले रोकेको हो । ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान पहिला नै स्वीकृति लिनु पर्ने भए पनि नेपाली पक्षले स्वीकृति नलिएका प्रहरीले रोकिदिएको हो । प्रहरीले रोकेपछि झण्डा र भ्रमणको वर्षको ब्यानर बाहिरै फ्यालेर उनीहरु ओपेरा हाउसभित्र गएका हुन् ।
सो क्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत महेशराज दाहाल सहभागी थिए । मन्त्री जस्तो गरिमामय व्यक्ति सहभागी कार्यक्रमका लागि स्वीकृति नलिनु र स्वीकृति नलिएको स्थानमा जान खोज्नु दुवै मुलुकको लागि अहितको कुरा हो । देशकै प्रतिनिधित्व गरेर गएका मन्त्री भट्टराई र नेपालको प्रतिनिधि भएर बसेका राजदूत दाहालले यसबारे ध्यान नदिँदा नेपालले लज्जाबोध गर्नुपरेको छ । नेपालको झण्डा बाहिरै राखेर ओपेरा हाउस प्रवेश गरेका मन्त्री भट्टराईसहित अधिकारीहरू ओपेराभित्र गएर फोटो खिचेर फर्केका थिए।
तस्विर : प्रकाश हुमागाइँकाे फेसबुकबाट